रोनाल्डोका टिममेट, जसलाई ‘पोर्चुगिज मेस्सी’ भन्दा खुसी लाग्छ

सबै फ्रेन्चहरु होटलको एकतर्फ थिए, पोर्चुगिजहरु अर्कोतर्फको कोठामा । शान्त भएर बस्न यही एउटा उपाय थियो ।

जब हामी युरोपक २०१६ को फाइनलमा फ्रान्सको सामना गर्दै थियौँ, पोर्चुगल फुटबल इतिहासकै सबैभन्दा ठूलो दिन थियो । मैले पनि जीवनभर कल्पना गरेको सबैभन्दा ठूलो अवसर थियो । त्यहाँसम्म पुग्नका लागि मैले धेरै नै मेहनत गरेको थिएँ ।

तर जब पोर्चुगल टिमका मेरा साथीहरु फाइनलमा मैदानमा प्रवेश गर्दै थिए, म त्यहाँबाट सयौँ किलोमिटर टाढा थिएँ । मैले मेरो सपना यथार्थमा बाँच्न पाइन । म स्वीट्जरल्याण्डको होटलको कोठामा थिएँ । खेल टेलिभिजनमा हेर्दै ।

मेरो भाग्य यो भन्दा खराब के हुन सक्ला ? छनोटको सबै खेलमा म राष्ट्रिय टिममा खेलेको थिएँ । तर, मैले क्लब फुटबल खेल्ने फ्रान्सकै क्लब मोनाकोबाट खेल्दा म घाइते हुन पुगेँ । युरोकप सुरु हुनै लाग्दा सिजनको अन्तिम खेलमा त्यसरी घाइते हुन पुगेँ । त्यो मेरो जीवनकै सबैभन्दा कठीन समय थियो । पोर्चुगिज टिमको ठूलो प्रगतिमा बेला म टेलिभिजनको पर्दामा खेल हेरेर बसिरहेको थिएँ ।

फाइनल हुनुभन्दा केही दिन अघि नै म मोनाकोको प्रि-सिजन अभ्यासमा स्वीट्जरल्याण्डमा थिएँ । आउँदो सिजन सकेसम्म राम्रो गर्ने तयारीमा थिएँ म । त्यो सँगै पोर्चुगल टिमले फाइनलमा सकेसम्म राम्रो गरोस् भन्ने थियो । मोनाकामा रहेका हामी साथीहरु फ्रान्स टिम र पोर्चुगल टिमको समर्थनमा बाँडिएका थियौँ ।

फ्रान्सका साथीहरु आफूहरुले जित्नेमा विश्वस्त जस्तै थिए । जब फाइनल खेल सुरु भयो हामी अलि चिन्तामै थियौँ । फ्रान्स टिमका साथीहरु पनि उस्तो ढुक्क भने थिएनन् । उनीहरुले सन् २००० को युरोपछि जित्न सकेका थिएनन् । तर, हामीले त कहिल्यै केही जितेकै थिएनौँ । अनि जिनेदिने जिदानले पेनाल्टी हानेर हामीलाई २००६ को विश्वकपमा हराएको पनि मेरो आँखा अघि नै थियो ।

खेल हेरिरहेका थियौँ, २५ औं मिनेटमा त हाम्रो सबै आशा नै गयो । क्रिष्टियानो रोनाल्डो घाइते भएर रुँदै बाहिरिए । जे होस् हामीले गोलरहित बराबरी खेलिरहन सक्यौँ । खेल अतिरिक्त समयमा गयो । हामी टेलिभिजनमा खेल हेर्दा पनि डरले कामिरहेका थियौँ ।

घाइते भएर बाहिरिएका रोनाल्डो पनि बेञ्चमै बसेर खेलाडीहरुलाई यसो गर उसो गर भन्दै ठूलो स्वरमा कराइरहेका थिए । उनले जे भनिरहेका भएपनि त्यसले काम गर्‍यो । किनभने, एडरले खेलको १ सय ९ औं मिनेटमा विजयी गोल गरे ।

हामी खुशीले उफ्रियौँ । हल्ला खल्ला गर्‍यौँ । अनि अर्को कोठामा टीभी हेरिरहेका फ्रान्सका साथीहरु ? उनीहरु त्यही गोलपछि पहिलोपटक शान्त भए । उनीहरुको कोठाबाट कुनै आवाज निस्किएको थिएन ।

हामीलाई हामीले जित्यौँ भन्ने विश्वास नै थिएन । पोर्चुगलका लागि त्यत्ति ठूलो उपाधि जित्नु भनेको सपनाकै कुरा थियो । अनि त्यही रात भएको एउटा कुरा म कहिल्यै बिर्सन सक्दिन । मेरो कानमा त्यो जितको उल्लास अझै गुञ्जिरहेको थियो । त्यहीबेला मेरो राष्ट्रिय टिमका एक साथीले मलाई मोबाइलमा म्यासेज गरे, ‘बधाई छ । यो जितको यात्रामा तिम्रो पनि ठूलो हात छ ।’

उनीहरुको जितको उत्सवमा भइरहेका बेला मेरो याद गर्नु भनेको मेरा लागि ठूलो कुरा थियो । म टिममा नरहे पनि मेरो एउटा सपना पूरा भएको थियो । हिँड्न सक्ने बेला भएदेखि पोर्चुगललाई ठूलो उपाधि जिताउन देखेको सपना ।

म फुटबल परिवारमै जन्मिएको हुँ । अनौठो त के भने मेरो बुबा र आमा छुट्टा छुट्टै क्लबको समर्थनमा हुनुहुन्थ्यो । यसैले फुटबलमा विभाजित परिवारमा जन्मिएको थिएँ म । मेरो आमा स्पोर्टिङको समर्थन गर्नुहुन्थ्यो भने मेरो बुबा बेनफिकाको समर्थक । मेरो आमाले मलाई पनि स्पोर्टिङको समर्थक बनाउन खोज्नुहुन्थ्यो । तर, मलाई स्पोर्टिङबाट कुनै आश थिएन । बुझ्ने भएदेखि म बेनफिकाकै समर्थक बनेँ । रुई कोस्टा मेरो लागि हिरो थिए । मेरो गोडामा बल भएदेखि नै म उनीजस्तै बन्न चाहन्थेँ ।

म ६ वर्षको हुँदा नै बेनफिकाका केही प्रशिक्षकको नजरमा परेको थिएँ । उनीहरु मलाई बेनफिकामा आएर सिकोस् भन्ने चाहन्थे । समस्या के भने बेनफिकामा रहेर फुटबल सिक्न धेरै नै महँगो थियो । साथै घरबाट पनि धेरै टाढा पथ्र्यो । यसैले बेनफिकामा जान्छु भनेर मैले झण्डै एक वर्ष आमाबुवालाई भनिरहनु परेको थियो । उहाँहरु तिम्रो जाने बेला भएको छैन अझै सानै छौ भनिरहनु हुन्थ्यो ।

म १० अगस्ट २०११ कहिल्यै बिर्सन्न । त्यो मेरो सातौँ जन्मदिन थियो । जन्मदिन मनाइरहँदा मैले आफ्नो उपहार खोलेर हेरेँ । मेरो हजुरबाले मलाई केही बक्समा सामान दिनुभएको होला सोचेको थिएँ, एउटा कार्ड मात्रै रहेछ । त्यो खोलेर सबै त्यही बेला कसरी पढ्ने पनि मैले सोच्न भ्याएको थिइनँ, त्यहाँ बेनफिकाको एउटा ब्याच देखेँ ।

त्यही लेखिएको थियो, ‘जन्मदिनको शुभकामना तिमी बेनफिकामा खेल्न जाँदैछौ ।’

मेस्सी जस्ता महान खेलाडीसँग मेरो तुलना त हुन सक्दैन तर चालानाले मलाई मेस्सी भनिदिँदा ममा आत्मविश्वास असाध्यै बढ्थ्यो

बेनफिकाको युथ एकेडेमीमा पठाउन मेरो हजुरबाले पैसा तिरिदिनु भएको थियो । त्यो मेरो जीवनको ठूलो खुशीको दिन थियो । रमाइलो के भने उहाँ मेरो आमाको बुबा हुनुहुन्थ्यो । अनि मेरो आमालाई बेनफिका मन पर्दैन थियो । हजुरबा नै पनि स्पोर्टिङकै समर्थक हुनुहुन्थ्यो । तर, पनि उहाँ आफ्नो टिमको मुख्य प्रतिस्पर्धी कहाँ नातिलाई पठाउन पैसा खर्च गरिदिँदै हुनुहुन्थ्यो ।

त्यसपछि नै मेरो बच्चा बेलादेखिको सपनाको क्लबबाट खेलाडी बन्ने यात्रा सुरु भयो । मेरो सहज भने थिएन । म अरुको तुलनामा शारीरिक रुपमा अलि सानै थिएँ । यही कुरा अलि ठूलो हुँदै जाँदा धेरै प्रशिक्षकले सोच्ने कमजोरी हुन जान्थ्यो ।

जब म १६ वर्षको पुगेँ मेरो जीवनको कठीन मोडमा पुगेँ । म युथ टिमबाट पनि राम्ररी खेल्न पाएको थिइनँ । प्राय सधैँ बेञ्चमा नै हुन्थेँ । त्यो मेरा लागि एकदमै ठूलो यातना थियो । म फुटबल खेल्नकै लागि बाँचिरहेको थिएँ । त्यही बेला नै मलाई क्लब छाडौँ भन्ने लाग्यो । यही कुरा असाध्यै दुःखदायी थियो ।

यसबेला मलाई एउटा नाम याद आउँछ, फर्नान्डो चालाना ।

चालाना पोर्चुगलका राम्रा खेलाडी थिए । उनको त्यो जुँगा भएको अनुहार सबैलाई सम्झना नै होला । उनी असाध्यै राम्रो खेल्थे । छल्लाउँदै पास दिने उनको शैली उत्कृष्ट थियो । यसैले मानिसहरु उनलाई ‘लिटल जिनियस’ भनेर चिन्थे ।

उनी बेनफिका युथ टिमकै एक प्रशिक्षक थिए । मलाई लाग्छ उनले ममा विश्वास गरेका थिए । कता कता उनी जस्तै थिएँ म पनि । उनले एक दिन मलाई छेउमा लगेर भनेका थिए, ‘चिन्ता नगर तिम्रो प्रशिक्षकले फुटबल के हो राम्ररी बुझेको छैन । यहाँ तिमी सबैभन्दा राम्रो खेलाडी हौ । विश्वास गर एकदिन तिमी महत्वपूर्ण खेलाडी बन्ने छौ ।’

मैले सुनेको सबैभन्दा राम्रो एकतर्फी संवाद कहिल्यै बिर्सनै सक्दिन । चालाना नभएका भए मेरो जीवनमा के हुन्थ्यो मलाई थाहा छैन । उनले मलाई मेस्सी भनेर बोलाउन पनि थालिसकेका थिए । उनले त्यसो भन्नुको पछाडि खेलको तुलना भन्दा पनि मेरो उचाइ नै होला । किनभने, मेस्सी जस्तै मेरो उचाइ पनि कम छ । अनि अर्को कुरा टेक्निकल रुपमा पनि अलिअलि मिल्ने र दुबैको देब्रे गोडा राम्रो चल्ने भएर पनि होला । मेस्सी जस्ता महान खेलाडीसँग मेरो तुलना त हुन सक्दैन तर चालानाले मलाई मेस्सी भनिदिँदा ममा आत्मविश्वास असाध्यै बढ्थ्यो ।

यसैले मलाई विश्वास हुन्थ्यो, मेस्सीले आफूमा विश्वास गरेर त्यस्तो राम्रो गरिरहेका छन् भने मैले पनि गर्नु पर्छ । त्यसपछि नै मैले बेनफिकाको ‘बी’ टिमसम्म पुगेर धेरै राम्रो गरेँ । तरपनि पहिलो टिमसम्म भने पुग्न सकेको थिइनँ । १८ वर्षको हुँदा पनि म पहिलो टिममा थिइनँ । त्यसपछि मैले स्नातक पनि पढ्न सुरु गरेँ ।

बेनफिका असाध्यै राम्रो टिम हो । सन् २०१४ मा लिग जितेको बेनफिकाले त्यही वर्ष दुईवटा अन्य घरेलु उपाधि पनि जितेको थियो । बेनफिकामा मैले एक सिजन सब्सिच्युडका रुपमा खेलेँ । त्यसपछि म क्लब छाड्नेमा ढुक्क जस्तै थिएँ । आफू ७ वर्षको हुँदादेखि रहेको क्लब छाड्दै थिएँ ।

पहिलो त मोनाकोका लागि बेनफिका छाड्नु असाध्यै दुःखको कुरा थियो । म लिस्बोनभन्दा बाहिर बसेको पनि थिइनँ । धेरैलाई लागेको थियो मोनाको गएर मैले खेल्न सक्दिन । अनि मलाई पनि उनीहरुले भनेको ठीकै हो जस्तो लाग्न थालिसकेको थियो । मोनाको राम्रो पैसा भएको क्लब हो । लिग वनमा दोस्रोमा पनि थियो । म १९ वर्षको उमेरमा पोर्चुगलको सेकेण्ड डिभिजनबाट एकैचोटी मोनाको जस्तो क्लबमा पुगेको थिएँ ।

हुँदै जाँदा मोनाका जानु मेरो जीवनको ठूलो उपलब्धी बन्यो । त्यहाँ पनि पोर्चुगिज प्रशिक्षकसँगै रहन पाएँ । लियोनार्दो जर्दिम जस्ता प्रशिक्षक र पोर्चुगलकै रिकार्डो कार्भाल्हो र जाओ मोटिन्हो जस्ता खेलाडी पनि थिए । हामीले लिग वनमा मात्रै होइन च्याम्पियन्स लिगमा पनि राम्रो गरीरहेका थियौँ । पेरिस सेन्ट जर्मेनलाई पनि हराएका थियौँ ।

सन् २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध च्याम्पियन्स लिगमा खेलेको खेल म बिर्सन सक्दिन । खेलमा हामी ५-३ ले हारेका थियौँ । खेल सकिएपछि म अन्तर्वार्ता दिएर भित्र छिर्दै थिएँ । पेप गार्डिओलालाई देखेपछि म केही नसोचि कुदेर उनी भएको ठाउँमा गएँ । उनले मलाई हेरेका थिए कि थिएनन् पनि याद थिएन । सिधै गएँ । उनी रोकिए र मसँग हात मिलाएर राम्रो खेल्यौ भने ।

गार्डिओलासँग मैले केहीबेर बोल्न पाएँ । मलाई उनको टिमले खेल्ने खेल सधैँ नै मन पर्छ । यसैले उनीसँग कुरा गर्न पाउँदा मलाई खुशी लागेको थियो । मैले खेल्ने शैली पनि उनको प्रशिक्षण शैली जस्तै छ भन्ने मलाई लाग्थ्यो ।

हाँसो लाग्दो के भने, सिजन सकिए सँगै मोनाकामा रहेका सबै युवा खेलाडीहरु अरु क्लब जाँदै छन् भन्ने हल्ला चलेको थियो । हल्ला कस्तो भने, बेन्जामिन मेन्डी, केलियन एमबाप्पेसँगै केही हामीहरु म्यानेचेस्टर सिटी, चेल्सी र पीएसजी साथै अरु केही क्लबमा कुरा पनि गरिरहेका छन् ।

आजभोलि त हल्ला पनि यति हुन्छन् कि के हो के होइन भनेर छुट्याउन निकै अप्ठ्यारो हुन्छ ।

यसैले हल्लालाई रमाइलो बनाएर हामी पनि हृवाट्स एप ग्रुपमा मजाक गर्दै बस्थ्यौँ । रियल मड्रिडको जर्सी लगाएको फोटोसप फोटो च्याटमा पठाएर मेन्डी रमाइलो गरिरहेका हुन्थे । त्यससँगै लेख्थे, ‘ल केटा हो भेट्दै गरौँला, आफू त अब जिदानतिर लाग्ने भइयो ।’

विश्वकप सकिएपछि म एकपटक गार्डिओलासँग कुरा गर्ने छु कि टिममा अरु पोर्चुगिज खेलाडीहरु पनि चाहियो । मलाई उनीहरु फुटबल कस्तो खेल्छन् भन्ने कुरासँग मतलब भएन तर, उनीहरु मजाक गर्नमा भने राम्रो हुनुपर्‍यो !

त्यो ताका मेन्डीको म्यासेज देख्नेवित्तिकै पक्कै केही रमाइलो कुरा छ भन्ने मलाई पहिल्यै लागिसक्थ्यो । मजाक गर्दा गर्दै त्यो मजाकमा पहिलो सत्य म नै भएँ । किनभने म मोनाकोबाट बेचिने पहिलो बनेँ । त्यहाँबाट म म्यानचेस्टर सिटी जाँदै थिएँ ।

गार्डिओलाका बारेमा त धेरै कुराहरु लेखिए । तर उनी खेलमा कतिसम्म बुझ्ने छन् भन्ने कुरा मानिसहरुले अझै बुझेका छन् जस्तो मलाई लाग्दैन । फुटबल मनपर्ने सबै जनाका लागि केही सिक्न छ भने गार्डिओला जस्ता प्रशिक्षक अरु हुँदैनन् । हरेक सानो सानो कुरालाई उनी विस्तृतमा बुझाउँछन् । हरेक दिन म्यानसिटीबाट खेल्दै छु भन्ने सम्झेर उठ्दा म खुशी हुँदै उठ्छु ।

म्यान सिटीमा सम्झौता गरेको दिन मैले मोनाको साथीहरुलाई जर्सी समातेको फोटोसहित म्यासेज गरिदिएँ, ल साथी हो म त आएँ, तिमीहरु कहिले हो ?

त्यसको रिप्लाईमा मेन्डीले लेखे, ओइ म पनि आउँदै छु त ।

एमबाप्पे सानैदेखि पीएसजीको समर्थक भएकाले उनी उतै जालान् जस्तो लागेकै थियो । त्यही महिनाको अन्त्यमा मेन्डी भने म्यानसिटी नै आए ।

मेन्डी त्यसको केही समयमा नै म्यानसिटीको ड्रेसिङ रुममा पनि अति नै रमाइलो गर्न थाले । तर यहाँ रमाइलो गर्ने उनी एक्ला थिएनन् । टिममा पोर्चुगलको भने म मात्रै एक्लो थिएँ । यसैले ब्राजिलियन, स्पेनियार्ड, इंग्लिस सबैले मलाई जिस्काएर रमाइलो मान्छन् । कहिले काँही मेरो फुटबल जुत्ता सिलिङमा झुण्डाइदिएका हुन्छन्, कहिले पूरा लुगासहित मलाई स्वीमिङ पुलमा धकेलिदिन्छन् । इन्स्टाग्राममा पनि मसँग मजाक गरिरहेका हुन्छन् ।

यो सबै कुराहरुको बीच हामी अहिले प्रिमियर लिग विजेता हौँ । यो उपाधि जितिसक्दा पनि हामीले सहजै जितेको जस्तो लागिरहेको छ । रमाइलो मान्दै, खेल्दै हामीले उपाधि जित्यौँ । यो सानो कुरा होइन ।

म हरेक क्षण ब्राजिलियन खेलाडीहरु फर्नान्डिनो, इडर्सन, ड्यानिलो, जिसससँग घेरिएको हुन्छु । उनीहरुसँग राम्रो साथी पनि भएको छु । तर यो विश्वकप सकिए पछि म एकपटक गार्डिओलासँग कुरा गर्ने छु कि टिममा अरु पोर्चुगिज खेलाडीहरु पनि चाहियो । मलाई उनीहरु फुटबल कस्तो खेल्छन् भन्ने कुरासँग मतलब भएन तर, उनीहरु मजाक गर्नमा भने राम्रो हुनुपर्‍यो !

(इंग्लिस क्लब म्यानचेस्टर सिटीमा रहेका बर्नार्डो सिल्भा पोर्चुगिज खेलाडी हुन् । अहिले रसियामा रहेका उनी विश्वकपमा पोर्चुगल टिमका मुख्य खेलाडी पनि हुन् । उनको यो लेख प्लेयर्स ट्रिब्युनमा रहेको अंग्रजी लेखको भावानुवाद हो ।)

२०७५ असार ६ गते १६:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

रोनाल्डोका टिममेट, जसलाई ‘पोर्चुगिज मेस्सी’ भन्दा खुसी लाग्छ

६ असार, काठमाडौं । नेपालसँग मैत्रीपूर्ण क्रिकेट खेल खेल्ने बेलायतको चर्चित क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को नेतृत्व श्रीलंकाका पूर्वकप्तान

रोनाल्डोका टिममेट, जसलाई ‘पोर्चुगिज मेस्सी’ भन्दा खुसी लाग्छ

काठमाडौं । विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १-१ को बराबरीमा रोकिए पनि अघिल्लो चरणमा जान चिन्ता नरहेको ब्राजिलियन खेलाडीले बताएका छन् ।

रोनाल्डोका टिममेट, जसलाई ‘पोर्चुगिज मेस्सी’ भन्दा खुसी लाग्छ

काठमाडौं । विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १-१ को बराबरीमा रोकिए पनि अघिल्लो चरणमा जान चिन्ता नरहेको ब्राजिलियन खेलाडीले बताएका छन् ।

http://bhorukawafm.org.np/