आर्काइभबाटट: ‘न्यूरो सर्जरीका डाइमन्ड नै थिए डा. देवकोटा’ 'मन्त्री हुँदा पनि अपरेसन गर्न छाड्नु भएन'

आर्काइभबाटट: ‘न्यूरो सर्जरीका डाइमन्ड नै थिए डा. देवकोटा’

'मन्त्री हुँदा पनि अपरेसन गर्न छाड्नु भएन'

अनलाइनखबर

 

 

आफैंले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । 

६३ वर्षीय डा. देवकोटा करिब ४० वर्षदेखि चिकित्सा पेशामा थिए ।

भारतमा एमबीबीएस गरेर सन् १९७८ मा फर्किएपछि उनले वीर अस्पताल ज्वाइन गरेका थिए । उनले तत्कालीन सर्जरी विभाग प्रमुख डा. दिनेशनाथ गोंगलको मातहतमा रहेर वीर अस्पतलामा लामो समय काम गरे । देवकोटा न्यूरोसर्जन बन्नुमा गोंगलको ठूलो हात छ ।

गोंगल अहिले ८६ वर्ष पुगे । यो उमेरमा पनि उनी न्यूरो अस्पतालमा दैनिक पुग्छन् र बिरामी हेर्छन् । यद्यपि देवकोटालाई क्यान्सरले गलाउँदै लैजाँदा उनका नौनाडी पनि गलिरहेका छन् । अनलाइनखबरसँगको कुराकानीमा उनले डा. देवकोटासँगको ४० वर्ष लामो संगत यसरी स्मरण गरे:

म वीर हस्पिटलमा सर्जरी डिपार्टमेन्टको हेड थिएँ । एक दिन मेरो डिपार्टमेन्टका डा. रामशायमान अमात्यले एक जना नयाँ मेडिकल अफिसरलाई मकहाँ ल्याउनुभयो । उत्साही भावमा उहाँले मसित दह्रो हात मिलाएको अहिले पनि सम्झिन्छु ।

उहाँ हुनुहुन्थ्यो डा. उपेन्द्र देवकोटा । भारतको आसाम मेडिकल कलेजबाट एमबीबीएस पास गरेर उहाँ सन् १९७८ मा नेपाल फर्किनुभएको रहेछ । त्यसपछि केही समय टिचिङ हस्पिटलमा लेक्चररका रुपमा काम गर्नुभएछ । अनि, लोकसेवा पास गरेर वीर हस्पिटलमा छिर्नुभएको रहेछ ।

उहाँको दुईवटा कुराले मलाई सुरुमै आकर्षित गर्‍यो । एउटा व्यक्तित्व र अर्को ह्यान्डराइटिङ । प्राय डाक्टरहरु ह्यान्डराइटिङका लागि आलोचित हुन्छन् । धेरै फोहोर हुन्छ हाम्रो ह्यान्डराइटिङ । उहाँको भने सफा थियो । सबैले बुझ्ने खालको । मैले लामो समय उहाँलाई आफैंसँग राखेर काम गरेंँ ।

मसँग काम गर्न डाक्टरहरुलाई सजिलो थिएन । म अलि रुखो थिएँ । काममा कडिकडाउ गर्थें । डाक्टरहरु मसँग छेउ पर्नसमेत डराउँथे । तर, उहाँले भने कुनै असजिलो महसुस गर्नुभएन । उहाँलाई मैले कुनै कडाई गर्नै पर्दैनथ्यो । आफैं अनुशासित हुनुहुन्थ्यो । बिरामीलाई डिल गर्ने तरिका, हिस्ट्री राइटिङ एकदमै राम्रो थियो । आफ्नो पेशाप्रति पूर्णरुपमा समर्पित हुनुहुन्थ्यो । कहिल्यै काममा हेलचेक्र्याई गरेको थाहा छैन ।

अरु डिमापर्टमेन्टका अफिसरहरु बिहान आएर आफ्नो काम सकेर बेलुका घर जान्थे । मेरो डिपार्टमा त्यस्तो चल्दैनथ्यो । लामो ड्यूटी हुन्थ्यो । जति बेला पनि स्ट्यान्डबाई बस्नुपर्थ्यो । उहाँले कहिल्यै गाह्रो मान्नुभएन ।

यसरी बने न्यूरोसर्जन

त्यति बेलासम्म हामीले हस्पिटलमा न्यूरो सर्जरी सुरु गर्न सकेका थिएनौं । तर, बिरामीको चाप बढ्दो थियो । नेपालमा अपरेसन नहुँदा महंगो रकम खर्चेर विदेश जानुपर्ने बाध्यता थियो । त्यसैले मैले चाँडोभन्दा चाँडो न्यूरो सर्जरी सुरु गर्ने योजना बनाएँ । तर, यसका लागि जनशक्ति हामीसँग थिएन । त्यसैले हस्पिटलकै एकजनालाई तालिम लिन विदेश पठाउने कुरा भयो । मैले डिपार्टमेन्टका डाक्टरहरुसँग कुरा राखें । तर कोही तयार भएन । बिरामी धेरै आउँदैनन्, प्राक्टिस चल्दैन भन्ने थियो । तर, अन्तिममा  डा. देवकोटा तयार हुनुभयो । म खुशी भएँ ।

१९८२ मा म बि्रटिश सरकारको निमन्त्रणामा दुई हप्ताको कार्यक्रमका लागि बेलायत गएँ । छोटो समयमै त्यहाँ आफ्नो सम्बन्ध बनाएँ । ‘ग्लासगो’ का प्रोफेसर डा. ग्राहम टिजडेललाई मैले भनें, ‘हामीलाई एउटा न्यूरोसर्जन चाहिएको छ । पढाउन हेल्प गर्नुपर्‍यो ।’

उनले स्वीकार गरे । त्यतिबेला विश्वमै एक नम्बर थियो ग्लासगो । अनुसन्धानका लागि एकदमै प्रख्यात ।

डा. टिजडेलले केही समयमै पत्र पठाउनुभयो । त्यसपछि ब्रिटिश काउन्सिलसँग समन्वय गरेर सन् १९८३ मा हामीले डा. देवकोटालाई बेलायत पठायौं । तालिमका लागि ६ महिना ग्लासगोबाट सुरु गर्ने र त्यसलाई तीन वर्षको छात्रवृत्तिमा परिणत गर्ने भनिएको थियो ।

बेलायतमा पनि उहाँले आफ्नो दक्षता देखाउनुभयो । त्यहाँको सबैभन्दा ठूलो एफआरसीएस पास गर्नुभयो । यो एकदमै गाह्रो कोर्स हो । परीक्षार्थीमध्ये १५ देखि २० प्रतिशत मात्रै पास हुन्थे त्यतिबेला ।

यसरी न्यूरो सर्जरीमा दक्षता हासिल गरेर उहाँ १९८९ मा नेपाल फर्किनुभयो र वीर हस्पिटल फेरि ज्वाइन गर्नुभयो । त्यतिबेलासम्म हामी पुरानै ढर्रामा काम गरिरहेका थियौं । डा. देवकोटा आएपछि मलाई ठूलो रिलिफ भयो । काँधको बोझ हल्का भएजस्तो । न्यूरो सर्जरीलाई आधुनिकतातर्फ लगियो । सरकारले पनि नयाँ उपकरणहरु ल्याउन सघायो । दरबन्दी सिर्जना गर्‍यो । अनि छुट्टै न्यूरो सर्जरी डिपार्टमेन्ट स्थापना गरेर काम गर्न थालियो ।

मन्त्री हुँदा

म वीर हस्पिटलबाट रिटायर्ड भइसकेको थिएँ । पेटको क्यान्सर भएर वीरमा नै भर्ना भएको थिएँ । एक दिन डा. देवकोटा प्रफुल्ल मुद्रामा आउनुभयो ।

‘म मन्त्री बन्ने भएँ,’ उहाँले भन्नुभयो । सुरुमा त मलाई जोक गरेको जस्तो लाग्यो । तर उहाँ सिरियस हुनुहुन्थ्यो ।

त्यसको केही समयपछि राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिनुभयो र नयाँ मन्त्रिमण्डल बनाउनुभयो । त्यसमा डा. देवकोटा स्वास्थ्य मन्त्री नियुक्त हुनुभयो । कसरी यो पद हासिल गर्नुभयो भन्ने चाहिँ मलाई थाहा भएन । त्यतिबेला म भारतमा क्यान्सरको अपरेसन गराएर घरमै आराम गर्दै थिएँ । मन्त्री भएलगत्तै उहाँ मेरो घरमा आउनुभयो । नेवारी चलनअनुसार मैले उहाँलाई सगुन खुवाएँ । उहाँले सल्लाह सुझाव माग्नुभयो ।

मन्त्री हुँदा पनि उहाँले आफ्नो चिकित्सकीय पेशा छोड्नुभएन । मन्त्रालयको काम सकेर बेलुका अस्पतालमा गएर नियमित अपरेसन गर्नुहुन्थ्यो । राति १-२ बजे मात्र घर फर्किनुहुन्थ्यो ।

‘अघिल्ला मन्त्रीले गरेका सबै काम नउल्टाउनू, पछि आउने मन्त्रीले उल्टाउन नसक्ने गरी काम गर्नुस्,’ मैले उहाँलाई यही टिप्स दिएँ । आफ्नो मन्त्री कालमा उहाँ बारम्बार मसँग छलफल गर्न आउनुहुन्थ्यो ।

उहाँकै कार्यकालमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान स्थापना भयो, २०५९ सालमा । हामीले पहिलेदेखि बेलायतको जस्तै इन्सटिच्युट बनाउनुपर्ने विषयमा छलफल गर्दै आएका थियौं । यो त्यही तयारीको प्रतिफल थियो । प्रतिष्ठानको पहिलो चेयरम्यान मलाई बनाइयो ।

मन्त्री हुँदा पनि उहाँले आफ्नो चिकित्सकीय पेशा छोड्नु भएन । मन्त्रालयको काम सकेर बेलुका अस्पतालमा गएर नियमित अपरेसन गर्नुहुन्थ्यो । राति १-२ बजे मात्र घर फर्किनुहुन्थ्यो ।

मन्त्रीबाट हटेपछि उहाँले बाँसबारीमा न्यूरो अस्पताल स्थापना गर्ने प्रक्रिया अगाडि बढाउनुभयो । मलाई नै त्यसको शिलान्यास गर्न लगाउनुभयो । अस्पताल उदघाटन चाहिँ तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो । अस्पतालमा मेरो नाममा एउटा विङ्स नै बनाउनुभएको छ । मेरो लागि यो ठूलो सम्मानको कुरा हो ।

के घमन्डी हुन् ?

फाइल तस्वीर

डा. देवकोटाको स्वभावका विषयमा विभिन्न टिकाटिप्पणीहरु हुन्छन् । कतिपयले उहाँलाई घमन्डी, रिसाहा र सन्काहा पनि भन्छन् । यस्तो आरोप त मैले पनि खेप्दै आएको छु । उहाँमा पनि मेरै गुण सरेको हुन् कि जस्तो पनि लाग्छ ।

खासमा उहाँ एकदम कोमल हृदयको व्यक्ति हुनुहुन्छ । तर, परिस्थितिले हामीलाई कहिलेकाहीँ आक्रामक बनाउँछ । उहाँ आफ्नो पेशाको प्रतिष्ठामा आँच आउने कुरा सहन सक्नुहुन्न । मनमा लागेको कुरा भनिहाल्नु हुन्छ ।

बिरामी र कुरुवाले जब एउटै प्रश्न पटक-पटक सोध्छन्, त्यसले हामी इरिटेड हुन्छौं । एउटा व्यक्तिले सोधेको कुरा अर्कोले पनि दाहोर्‍याएर सोध्यो भने पनि रिस उठ्छ । त्यसैगरी बिरामीको वरिपरी धेरै व्यक्तिहरु झुम्मिनु, बिरामीकै लागि ठीक हुँदैन । त्यसमा हामी कडाइ गर्छौं । यिनै कुराहरुलाई लिएर उहाँमाथि आरोपहरु लाग्छन् ।

अलि भीआईपीहरुले उहाँलाई घमन्डी सोच्छन् । भीआइपी भन्नेबित्तिकै टाढैबाट नमस्कार गर्ने उहाँको स्वभाव छैन ।अनावश्यक चाकडी गर्ने र ज्यूहजुर गर्ने बानी पनि छैन । त्यसैले उनीहरुको नजरमा उहाँ घमन्डी नै हुनुहोला । अन्यथा घमन्डी स्वभाव होइन उहाँको । हृदय एकदम सफा छ ।

क्यान्सरले समात्दा

पछिल्लो समय उहाँ राजनीतिकरुपमा पनि सक्रिय हुन खोजिरहनु भएको थियो । मैले पनि आशा राखेको थिएँ कि राजनीतिमा फर्केर उहाँ फेरि उच्च ओहदामा पुग्नुहोला । तर, कथाले अर्कै मोड लियो ।

चुनावका बेलामा गोरखामा गएर वामपन्थी गठवन्धनका पक्षमा भाषण गर्नुभयो । त्यसपछि फर्केर अपरेसन गर्ने क्रममा अलिकति थकान महसुस भएछ । त्यसपछि पहेंलो, बाक्लो पिसाब आएछ । अनि एमआरआई र अल्ट्रासाउन्ड गराउँदा रिपोर्ट देखेर तर्सिनुभएछ । त्यसपछि मलाई थाहा भयो । पित्त नली थिचिएर अब्स्ट्रक्टिभ जन्डिस भएको थियो ।

भीआईपी भन्नेबित्तिकै टाढैबाट निहुरिएर नमस्कार गर्ने उहाँको स्वभाव छैन । अनावश्यक चाकडी गर्ने र ज्यूहजुर गर्ने बानी पनि छैन । त्यसैले उनीहरुको नजरमा उहाँ घमन्डी नै हुनुहोला ।

भोलिपल्ट एक्सपर्टहरु बोलाएर छलफल गर्दा जटिल कलेजोको भेट्नामा मासु पलाएको देखियो । क्यान्सरको स्पष्ट संकेत थियो त्यो । नलीहरु ड्रेन गर्न नसके २/४ दिनमै घातक असर पार्न सक्ने अवस्था देखियो । त्यसपछि उहाँले बेलायत जाने निर्णय लिनुभयो ।

उहाँ सकेसम्म उपचारका लागि विदेश जानु राम्रो हुँदैन भन्ने मान्यताको व्यक्ति । तर, आफ्नै केसमा जानुपर्‍यो किनकी यो अत्यन्त जटिल थियो । नेपालमा उपचार हुने सम्भावना थिएन । बेलायतमा साथीहरु पनि भएको र त्यहाँ उपचार पनि राम्रो भएकाले जानुभएको हो । जानुअघि उहाँमा बिसेक हुने आशा थियो । हामीले पनि आशा राखेका थियौं । तर, ढुक्क हुने अवस्था भने थिएन ।

बेलायत गएपछि पित्तथैलीमा क्यान्सर भएको पुष्टि भयो । त्यसपछि किमो दिन थालियो । तर, त्यसले काम गरेन । सायद धेरै ढिला भइसकेको थियो । दुखाइ भएको भए चाँडै चेकअप हुन्थ्यो । तर यसमा दुखाइ थिएन । त्यसैले बेलामा थाहा भएन ।

बेलायतमा रहँदा म नियमित सम्पर्कमा थिएँ उहाँको । उहाँ आफ्नो अपडेटहरु सुनाउनुहुन्थ्यो । किमोका बाबजुद सिटिस्क्यानले ट्यूमर बढ्दै गएको देखायो । पाँच महिनासम्म कुनै सुधारको लक्षण देखिएन । अन्ततः उहाँले सम्पूर्ण आशाहरु परित्याग गरेर नेपालमै आफ्नो प्राण बिसाउने निर्णय लिनुभयो ।

स्वस्थ हुने आशा बोकेर जानुभएका डा. देवकोटा अन्ततः आशाविहीन भएर फर्किनुभयो र आफ्नै न्यूरो हस्पिटलमा भर्ना हुनु भएको थियो । नेपालमा ल्याउनासाथ हल्ला भइहाल्यो । उहाँलाई भेट्न भिड लाग्न थाल्यो । भीआईपीहरु आउनुभयो । १०-१२ दिन अगाडिसम्म उहाँ भेट्न आउनेहरुसँग बोल्नुहुन्थ्यो । आफ्नोभन्दा पनि देशकै बारेमा बढी कुरा गर्न रुचाउनुहुन्थ्यो ।

तर दिनप्रतिदिन अवस्था बिगि्रँदै गयो । दुवै मिर्गौला फेल भए । उहाँको इच्छामा  गोर्खा पुर्‍याएर ल्याइयो । त्यसपछि अनुहार अलि उज्यालो भएको थियो । अहिले पनि बेलाबेलामा गोर्खा नै जाने कुरा गर्नुहुन्छ । उहाँलाई आफ्नो जन्मस्थान औधी प्यारो छ ।

डा. देवकोटाले नजिकिँदै गरेको मृत्युलाई साहसिक रुपमा स्वीकार्नुभएको थियो । मृत्युको त्रास कहिल्यै व्यक्त गर्नुुभएन । डा. देवकोटा जस्तो सिद्धहस्त चिकित्सकसँग सहकार्य गर्न पाएकोमा म आफूलाई भाग्यमानी सम्झिने गर्छु । न्यूरोसर्जरीको त ‘डाइमन्ड’ नै हुनुहुन्थ्यो उहाँ ।

प्रस्तिुतिः चिरञ्जीवी पौडेल

२०७५ असार ४ गते २१:३५ मा प्रकाशित (२०७५ असार ५ गते ९:०५मा अद्यावधिक गरिएको)

प्रतिकृया दिनुहोस

आर्काइभबाटट: ‘न्यूरो सर्जरीका डाइमन्ड नै थिए डा. देवकोटा’ 'मन्त्री हुँदा पनि अपरेसन गर्न छाड्नु भएन'

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना यतिबेला एक तस्वीरका कारण चर्चामा छिन् । तस्वीरमा उनले एक विदेशी युवकलाई अंगालोमा बेरेको देखिन्छ । यसअघि

आर्काइभबाटट: ‘न्यूरो सर्जरीका डाइमन्ड नै थिए डा. देवकोटा’ 'मन्त्री हुँदा पनि अपरेसन गर्न छाड्नु भएन'

५ असार, काठमाडौं । अष्ट्रेलियाको एक अदालतले आइफोन निर्माता कम्पनी एप्पललाई पचास लाख अमेरिकी डलर (९० लाख अष्ट्रेलियन डलर) जरिवाना तिराउने फैसला गरेको छ

आर्काइभबाटट: ‘न्यूरो सर्जरीका डाइमन्ड नै थिए डा. देवकोटा’ 'मन्त्री हुँदा पनि अपरेसन गर्न छाड्नु भएन'

काठमाडौं । विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १-१ को बराबरीमा रोकिए पनि अघिल्लो चरणमा जान चिन्ता नरहेको ब्राजिलियन खेलाडीले बताएका छन् ।

http://bhorukawafm.org.np/